इरानविरुद्ध युद्धको निर्णयमा ट्रम्पको अडान : ‘फेरि गर्नुपरे पनि त्यही गर्थें’

User Image Prime TV News ४ दिन अगाडि
Image of इरानविरुद्ध युद्धको निर्णयमा ट्रम्पको अडान : ‘फेरि गर्नुपरे पनि त्यही गर्थें’

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्।

आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको प्रभाव पर्न सक्ने भए पनि निर्णयप्रति आफूलाई अफसोस नभएको उनको भनाइ छ। ‘फक्स न्युज’की प्रस्तोता लौरा इन्ग्राहमसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पलाई मध्यावधि निर्वाचनमा पर्न सक्ने राजनीतिक असरलाई ध्यानमा राख्दा इरानविरुद्ध युद्ध सुरु गरेकोमा पछुतो छ कि छैन भनेर प्रश्न गरिएको थियो।

जवाफमा ट्रम्पले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए। यद्यपि, आफूले गरेका निर्णयमाथि मानिसले सधैँ केही हदसम्म पुनर्विचार गर्न सक्ने उनको भनाइ थियो। बिहीबार प्रसारित ‘द इन्ग्राहम एंगल’ कार्यक्रममा ट्रम्पले परिस्थिति फेरि दोहोरिए पनि आफूले लिने निर्णय परिवर्तन नहुने स्पष्ट पारे।

‘यदि मैले फेरि त्यसो गर्नुपर्‍यो भने, मैले जे गरेको थिएँ, ठीक त्यही गर्थें,’ ट्रम्पले भने। यसै क्रममा उनले इरानविरुद्धको युद्धका कारण आफ्ना केही समर्थक असन्तुष्ट र निरुत्साहित बनेको भन्ने दाबीलाई समेत अस्वीकार गरे।

ट्रम्पको पछिल्लो अभिव्यक्ति आगामी मध्यावधि निर्वाचनको तयारी भइरहेका बेला आएको हो। निर्वाचनमा विदेश नीतिसँग सम्बन्धित निर्णयले मतदाताको धारणा र राजनीतिक समीकरणमा पार्न सक्ने प्रभावलाई लिएर बहस भइरहेका बेला ट्रम्पले आफ्नो निर्णयको बचाउ गरेका हुन्।