‘ग्यास छैन भने सरकारबाटै घोषणा होस्’ : सांसद आशिका तामाङ

User Image Prime TV News ३ दिन अगाडि
Image of ‘ग्यास छैन भने सरकारबाटै घोषणा होस्’ : सांसद आशिका तामाङ

काठमाडौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुलुकमा ग्यासको अभाव हो भने सरकारले त्यसको औपचारिक घोषणा गर्नुपर्ने बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले जनतालाई भोकै बस्नुपर्ने अवस्था सिर्जना गर्न रास्वपालाई दुई तिहाइ मत नदिएको बताइन्। ‘साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गर्नुपर्‍यो। जनतालाई दाउरा खोजेर भात पकाएर खान भन्न सक्नुपर्‍यो,’ उनले भनिन्।

ग्यासको समस्याकै कारण मन्त्री परिवर्तन गरिएको भनिए पनि समस्या समाधान नभएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। ‘महिनैपिच्छे ग्यासकै लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,’ उनले टिप्पणी गरिन्।

सांसद तामाङले ग्यास उपलब्ध हुँदाहुँदै पनि कतिपय पसलेले बिक्री नगरेको गुनासो आफूलाई दैनिक रूपमा आउने गरेको बताइन्। ग्यास वितरणमा देखिएको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्दै उनले बजारमा ग्यास भएर पनि उपभोक्ताले नपाउने अवस्थालाई सरकारभन्दा शक्तिशाली कुनै समूहको प्रभावसँग जोडेर प्रश्न गरिन्।

‘यो ल्हासामा सुन छ, कान मेरो बुच्चै छ भनेजस्तो भएन? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो?’ उनले प्रश्न गरिन्। यस विषयमा सभामुखबाट समेत जवाफको अपेक्षा गरेको उनले बताइन्। सांसद तामाङले आफ्नो धारणा राखिरहँदा सत्तारूढ दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।