राजविराज अस्पतालमा सुत्केरी घटना : पाँच सदस्यीय समितिबाट छानबिन, दोषीमाथि कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर एक महिलाले बच्चा जन्माएको घटनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गम्भीरतापूर्वक लिएको जनाएको छ।
घटनाको छानबिन गर्न मन्त्रालयले पाँच सदस्यीय एथिकल कमिटी गठन गरेको छ। प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले घटनाबारे सदनलाई जानकारी दिँदै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुपर्भा श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको बताइन्। उनका अनुसार समितिले घटनास्थलमा पुगेर स्थलगत छानबिनसमेत गरिसकेको छ।
मन्त्री मेहताका अनुसार घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन प्रक्रिया अघि बढाइएको छ। अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएकामा अस्पतालले आफ्नो जवाफ पेस गरिसकेको उनले जानकारी दिइन्।
प्रारम्भिक विवरणअनुसार प्रसूति व्यथा लागेपछि अस्पताल पुगेकी ३० वर्षीया बबिताकुमारी पासवानलाई समयमै सेवा उपलब्ध नगराई अस्पतालको बेड नम्बर २४ बाट बाहिर पठाइएको पाइएको छ। त्यसपछि अस्पताल परिसरबाहिरै उनले बच्चा जन्माएकी थिइन्।
मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। कुनै पनि गर्भवती महिलाले जोखिम मोलेर घरमै वा स्वास्थ्य संस्थाको बाहिर प्रसूति गराउनुपर्ने अवस्था आउन नहुने उनको भनाइ थियो।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क रहेको र सरकारले यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको मन्त्री मेहताले स्पष्ट पारिन्। उनले कुनै पनि शुल्क माग्नु वा बिरामीलाई आवश्यक स्वास्थ्य सेवा दिन अस्वीकार गर्नु कानुनविपरीत हुने बताउँदै त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता जनाइन्।
छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य संस्थामा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने मन्त्री मेहताले बताइन्।







