आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोपकै आधारमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्त भइसकेको दाबी गर्दै भ्रष्टाचारको आरोप लागेका आईजीपी कार्कीमाथि समेत छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए।
सांसद सुनारले आईजीपी कार्की, उनकी श्रीमतीसहित उच्च तहका अधिकारीहरूमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको दाबी गरे। यस्ता आरोपसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म पुगेको र उजुरीको चाङ लागेको उनको भनाइ थियो।
उनले प्रहरीका तल्लो तहका कर्मचारीका लागि खरिद गरिएका जुत्ता, मोजालगायत सामग्रीमा समेत अनियमितता भएको आरोप आईजीपी कार्कीमाथि लागेको बताए। ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनकी श्रीमती लगायतका ठूला अधिकारीहरूमाथि लागेको छ,’ सांसद सुनारले भने, ‘अख्तियारदेखि सार्वजनिक लेखा समितिसम्म करोडौँ भ्रष्टाचार गरेको आरोपका उजुरीहरू चाङमाथि चाङ खपिँदै गएका छन्।’
सुनारले सरकारले आईजीपी कार्कीलाई अहिलेसम्म बर्खास्त नगर्नुको कारणबारे समेत प्रश्न उठाए। उनले कार्कीमाथि छानबिन हुन नसक्नुको कारण सार्वजनिक गर्न सरकारसँग माग गरे। ‘यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ?’ उनले प्रश्न गरे।
उनले आरोप गम्भीर भएकाले सरकारले यस विषयमा तत्काल ध्यान दिनुपर्ने बताए। साथै, आरोप लागेका व्यक्तिमाथि निष्पक्ष छानबिन गरी दोषी पाइए कानुनअनुसार कारबाही गर्नुपर्नेमा उनले जोड दिए। सांसद सुनारले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी नेतृत्वमाथि उठेका आरोपलाई बेवास्ता नगर्न आग्रह गरे ।







