विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति बनाउन नेकपाको माग
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन नीतिगत कामका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद् व्यवस्थापन कुनै एक मन्त्रालय, सरकार वा तहको मात्रै जिम्मेवारी नभएको बताए। उनले राजनीतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय समुदायसहित सम्बन्धित सबै पक्षलाई समेटेर राष्ट्रिय संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।
पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघि सारेको सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्तावलाई नेकपाले समर्थन गर्ने स्पष्ट पारे। ‘सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस विपत्तिसँग जुध्न राख्नुभएको सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्तावलाई हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समर्थन जनाउन चाहन्छु,’ पुनले भने।
उनले रसुवा बाढीपछिको राहत, उद्धार र पुनर्स्थापनाका काममा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विपद्का बेला सरकारले विपक्षी दल तथा प्रदेश र स्थानीय सरकारसँग अपेक्षित स्तरमा समन्वय गर्न नसकेको उनको भनाइ थियो।
भदौ १० गते आएको विनाशकारी बाढीपछि भोलिपल्ट रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए।
बैठकले १० बुँदे संकल्प गर्दै दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने सहमति गरेको थियो। संकल्पको दशौँ बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने उल्लेख थियो।
यस्तो संयन्त्रले संकटका बेला मात्रै नभई विपद् पूर्वतयारी र दिगो विकासका विषयमा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा भूमिका खेल्ने परिकल्पना गरिएको थियो। तर, उक्त सहमति भएको लामो समय बितिसक्दा पनि केन्द्रस्तरमा सर्वदलीय संयन्त्र गठन हुन सकेको छैन।
भदौ १६ गते दोस्रो चरणको सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी उक्त बैठकले राहत, उद्धार र पुनर्स्थापनाका काममा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको थियो। त्यसपछि जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर काम अघि बढाउने विषयमा सहमति भए पनि केन्द्रमा भने त्यस्तो संयन्त्र गठन हुन सकेको छैन।
केन्द्रमा संयन्त्र गठन गर्ने विषयमा अहिले दुई विकल्पमा छलफल भइरहेको छ। एउटा विकल्प संसद्भित्रै विशेष संसदीय समिति गठन गर्ने र अर्को संसद्बाहिर सर्वदलीय संयन्त्र निर्माण गर्ने रहेको छ। यही अवस्थामा नेकपा नेता पुनले लामिछानेले अघि सारेको संसदीय विशेष समिति गठनको प्रस्तावप्रति आफ्नो दलको समर्थन रहेको स्पष्ट पारेका हुन्।







