महासभामा जलवायु न्यायको मुद्दा उठाउँदै प्रधानमन्त्री बालेन

User Image Prime TV News ३ दिन अगाडि
Image of महासभामा जलवायु न्यायको मुद्दा उठाउँदै प्रधानमन्त्री बालेन

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको संकट र त्यसबाट भइरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्।

प्रधानमन्त्री शाह आगामी असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन प्रमुख विषयमध्ये एक हुनेछ। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण सिर्जित विपद्को उच्च जोखिममा रहेको विषयलाई उनले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनेछन्।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले ठूलो क्षति पुर्‍याएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको सन्देश विश्व समुदायसमक्ष पुर्‍याउने तयारी गरिएको छ।

परराष्ट्र सचिव राईले नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भने ठूलो मात्रामा भोग्नुपरेको बताए। उनका अनुसार जलवायु परिवर्तनका कारण बारम्बार हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोर्दै आएको विषय प्रधानमन्त्रीले महासभामा उठाउनेछन्।

प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विकसित तथा धनी राष्ट्रहरूको थप जिम्मेवारी आवश्यक रहेको विषयमा पनि जोड दिनेछन्। नेपालले ‘फन्ड फर रेस्पोन्डिङ टु लस्ट एन्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल र उचित सहयोग प्राप्त गर्नुपर्ने मागसमेत अघि सार्ने तयारी छ।

त्यसैगरी, नेपालमा जलवायु जोखिम प्रतिरोधी पूर्वाधार निर्माण, जलवायु स्मार्ट कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज, पर्याप्त र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित मुलुकहरूलाई प्रधानमन्त्रीले अपिल गर्नेछन्।

जलवायु संकटका असर मात्रै नभई विश्व वातावरण संरक्षणमा नेपालले पुर्‍याउँदै आएको योगदानबारे पनि महासभामा चर्चा हुने भएको छ। ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र विस्तृत नदी प्रणालीमार्फत नेपालले प्रकृति संरक्षणमा पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ।

यसै क्रममा नेपालले महासभाको अवसरमा ‘सगरमाथा टु सी’ विषयक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने भएको छ। हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट सिर्जित विनाशकारी परिणाम तथा विश्वव्यापी जलवायु नीतिका विषयमा छलफल गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहसहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुँदैछन्। तीमध्ये ८१ देशका राष्ट्र प्रमुख र ५० देशका सरकार प्रमुख रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभालाई नेपालले आफ्नो आन्तरिक राजनीतिक परिवर्तन र वर्तमान सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा पनि उपयोग गर्ने तयारी गरेको छ। परराष्ट्र सचिव राईका अनुसार गत वर्ष नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न महासभा महत्वपूर्ण अवसर हुनेछ।

प्रधानमन्त्री शाहको महासभा सम्बोधनमा भने जलवायु संकट, जलवायु न्याय र नेपालले भोगिरहेको विपद्को विषयलाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।