भोटेकोसी बाढीपछि भारत र चीनबाट तीन बेलिब्रिज प्राप्त
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज नेपालले प्राप्त गरिसकेको छ। बाढीका कारण देशभर ५७ वटा पुलमा क्षति पुगेपछि वैकल्पिक आवागमनका लागि मित्रराष्ट्रसँग बेलिब्रिज सहयोग मागिएको हो।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले बाढीबाट क्षतिग्रस्त संरचना पुनःस्थापनाका लागि आवश्यक सामग्री जुटाउन सम्बन्धित मुलुकसँग समन्वय भइरहेको बताए। भारतले नेपाललाई थप २२ वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
तीमध्ये ६ वटा बेलिब्रिज र ७० मिटर लम्बाइका १६ वटा सिंगल लेन ब्रिज रहेका छन्। भारतबाट उपलब्ध हुने थप स्टिल ब्रिजहरू नेपालतर्फ आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। यस्तै, नेपालले चीनसँग ३० वटा बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो। चीनले हालसम्म १०० मिटर लम्बाइका दुईवटा पुल नेपाललाई हस्तान्तरण गरिसकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
चीनबाट माग गरिएका बाँकी बेलिब्रिज पनि क्रमशः नेपाल आउने क्रममा रहेको उनले बताए। बाढीपछि क्षतिग्रस्त पुलका कारण विभिन्न क्षेत्रमा यातायात तथा आपूर्ति प्रभावित भइरहेका बेला बेलिब्रिज जडानमार्फत तत्कालीन आवागमन सहज बनाउने सरकारको तयारी छ।







