ग्यास अभावविरुद्ध विद्यार्थीको प्रदर्शन, आपूर्ति सहज रहेको निगमको दाबी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
बजारमा ग्यासको सहज उपलब्धता नभएको भन्दै विद्यार्थीहरूले शुक्रबार खाली ग्यास सिलिन्डर र थालसहित प्रदर्शन गरेका हुन्। ग्यासको मूल्य वृद्धि भए पनि उपभोक्ताले आवश्यक मात्रामा ग्यास पाउन नसकेको उनीहरूको आरोप छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाउँदै निगमको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए। विद्यार्थी संगठनहरूले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव सिर्जना भए त्यसको छानबिन गर्न माग गरेका छन्।
उनीहरूले मूल्य बढाउने तर बजारमा ग्यास नपाउने अवस्था तत्काल अन्त्य गर्न निगमलाई दबाब दिएका छन्। यता नेपाल आयल निगमले भने आपूर्तिमा देखिएको समस्या पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि उत्पन्न भएको बताउँदै आएको छ। मुख्य सडकमार्ग प्रभावित भएपछि ग्यास बोकेका सवारीसाधनको नियमित आवतजावतमा कठिनाइ भएको निगमको भनाइ छ।
निगमका अनुसार सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म तराई क्षेत्रमा रहेका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। वैकल्पिक मार्ग प्रयोग गरेर आपूर्ति कायम राखिएको दाबी निगमको छ।
तर निगमले आपूर्ति सहज रहेको दाबी गरे पनि उपभोक्ताले बजारमा ग्यासका लागि लामो समय कुर्नुपर्ने तथा सहज रूपमा सिलिन्डर नपाउने अवस्था कायमै रहेको गुनासो गरिरहेका छन्। यसले निगमले सार्वजनिक गर्ने आपूर्ति विवरण र बजारको वास्तविक अवस्थाबीच अन्तर देखिएको संकेत गरेको छ।
ग्यास अभावका कारण दैनिक खाना पकाउनेदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायसम्म प्रभावित हुन थालेका छन्। सडक अवरोध हटाएर नियमित ढुवानी सुरु नहुँदासम्म वैकल्पिक आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने मागसमेत उठिरहेको छ।







