माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात शव फेला

User Image Prime TV News ३ दिन अगाडि
Image of माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात शव फेला

काठमाडौ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी गर्ने क्रममा सात जनाको शव फेला परेको छ।

भदौ १० गते आएको बाढीपछि आयोजनाको सुरुङ तथा हेडवक्स क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले जनाएको हो।

२१६ मेगावाट क्षमताको आयोजनामा बाढीपछि ठूलो क्षति भएको थियो भने धेरै जना सम्पर्कविहीन भएका थिए। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा अवलोकन गर्दा उक्त क्षेत्र पूर्ण रूपमा माटो तथा भग्नावशेषले भरिएको पाइएको उद्धारकर्ताले बताएका छन्।

मैलुङ क्याम्प साइटमा मिनी स्काभेटर प्रयोग गरेर उत्खनन सुरु गरिएको छ। यस्तै, अडिट–३ क्षेत्रमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी गरिरहेका छन्। कम्पनीका अनुसार शनिबारदेखि खोजी कार्यलाई थप तीव्रता दिइनेछ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार गरिएको जनाइएको छ।