आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ। मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रहेको छ।
कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
पहाडी भूभागका धेरै स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै, तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।







