ड्रोन हमलापछि साउदी अरबले इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गर्‍यो

User Image Prime TV News ३ दिन अगाडि
Image of ड्रोन हमलापछि साउदी अरबले इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गर्‍यो

काठमाडौ । साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।

साउदी अधिकारीका अनुसार सेप्टेम्बर १० को बिहान पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको थियो। हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ।

साउदी प्रेस एजेन्सीका अनुसार थप क्षति रोक्न तथा सुरक्षा सुनिश्चित गर्न पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।

साउदी विदेश मन्त्रालयले हमलाको निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने केही ड्रोन इराकी भूमिबाट प्रक्षेपण गरिएको दाबी गरेको छ। यद्यपि, यस दाबीबारे इराकको प्रतिक्रिया भने स्पष्ट भइसकेको छैन।

साउदी अरबले तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ। इराकका प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता हमला रोक्न आवश्यक कदम चाल्न समय मागेकाले तत्काल कारबाही नगर्ने निर्णय गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ।

साउदीले इराकी सरकारका प्रयासलाई समर्थन गर्ने बताए पनि आफ्नो सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।

इस्ट–वेस्ट पाइपलाइन साउदी अरबको प्रमुख तेल पूर्वाधारमध्ये एक हो। यसले देशको पूर्वी क्षेत्रमा रहेका प्रमुख तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्ने भएकाले साउदीको तेल ढुवानी प्रणालीमा यसको महत्वपूर्ण भूमिका छ।