भोटेकोसी बाढीपीडितका लागि अमेरिकाले थप १० लाख डलर सहायता दिने

User Image Prime TV News २ दिन अगाडि
Image of भोटेकोसी बाढीपीडितका लागि अमेरिकाले थप १० लाख डलर सहायता दिने

काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाले थप १० लाख अमेरिकी डलर सहायता स्वीकृत गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोमार्फत नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डिएनए किट उपलब्ध गराउन उक्त रकम स्वीकृत गरिएको हो।

यससँगै अमेरिकाले नेपालमा बाढीपछि हालसम्म ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षा प्राथमिकतामा राखिएको छ। अमेरिकी सहयोगअन्तर्गत विश्व खाद्य कार्यक्रममार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता उपलब्ध गराइएको छ।

यसबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराउने योजना छ। दुर्गम तथा सम्पर्कविहीन समुदायसम्म राहत पुर्‍याउन हवाई तथा स्थल यातायातको प्रयोग भइरहेको अमेरिकाले जनाएको छ।

राहत सामग्री आपूर्ति गर्ने क्रममा देखिएका अवरोध हटाएर प्रभावित समुदायसम्म सहायता पुर्‍याउने प्रयास भइरहेको छ। कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलर बराबरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि उपलब्ध गराइएको छ।

यसअन्तर्गत आश्रय सामग्री, भोजन, कम्बल, प्लास्टिक सिट, पाल, सौर्य बत्ती तथा डिग्निटी किट वितरण भइरहेको छ। बालबालिकाका लागि बालमैत्री स्थानसमेत सञ्चालन गरिएको जनाइएको छ।

त्यस्तै, झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका लागि ३ लाख ६५ हजार डलर उपलब्ध गराइएको अमेरिकाले जनाएको छ।

बाढीमा बेपत्ता तथा मृतकको पहिचानका लागि अमेरिकी संघीय अनुसन्धान ब्युरोका फोरेन्सिक विशेषज्ञले नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्।

उनीहरूले अमेरिकी नागरिकका परिवारसहित विपद्का सम्पूर्ण पीडितको पहिचानमा नेपाली अधिकारीलाई सहयोग गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी सेनाले नेपालको नेतृत्वमा सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत अभियानका लागि ५ हजार विशेष विपद् पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–इन्ड लोडर उपलब्ध गराएको छ। चार सदस्यीय अमेरिकी सैन्य नागरिक मामिला टोलीसमेत मानवीय तथा विपद् सहायता परियोजनाका लागि घटनास्थलमा परिचालित रहेको जनाइएको छ।

अमेरिकाले नेपाल सरकारसँग समन्वय गर्दै परिस्थितिअनुसार थप सहायता उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।