इरानी सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको राष्ट्रपति पेजेस्कियानको दाबी

User Image Prime TV News २ दिन अगाडि
Image of इरानी सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको राष्ट्रपति पेजेस्कियानको दाबी

काठमाडौ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको दाबी गरेका छन्।

भारतको नयाँदिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी पेजेस्कियानले भारतीय सञ्चारमाध्यम आजतकसँगको अन्तर्वार्तामा खामेनीको अवस्थाबारे यस्तो बताएका हुन्। अन्तर्वार्ताका क्रममा खामेनी कहाँ छन् र उनको अवस्था कस्तो छ भन्ने प्रश्नमा पेजेस्कियानले उनी जीवित रहेको र पहिलेझैँ शासन प्रणालीभित्र काम गरिरहेको बताएका छन्।

उनले भने, “हाम्रा सर्वोच्च नेता जीवित छन् र पहिलेजस्तै प्रणालीभित्र काम गरिरहेका छन्। शत्रुले उनको सही ठेगाना पत्ता लगाउन सकेका छैनन्, त्यसैले विभिन्न अनुमान फैलाइरहेका छन्।” पेजेस्कियानले अमेरिका र इजरायलमाथि गम्भीर आरोपसमेत लगाए। उनका अनुसार उनीहरूले व्यक्तिको परिवार र भवनमाथि आक्रमण गरेपछि पीडितलाई नै आतंकवादी भनेर चित्रण गर्ने प्रयास गरिरहेका छन्।

मोज्तबा खामेनीले सर्वोच्च नेताको पद सम्हालेको करिब ६ महिना बितिसक्दा पनि उनी सार्वजनिक रूपमा देखिएका छैनन्। यद्यपि, उनका लिखित सन्देशहरू भने अन्य व्यक्तिमार्फत सञ्चार माध्यममा सार्वजनिक हुँदै आएका छन्।

यसैबीच, भारतको राजधानी नयाँदिल्लीमा शनिबारदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनमा इरानी राष्ट्रपति पेजेस्कियानसँगै चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका नेताहरू सहभागी छन्।