रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ जना घाइते
Prime TV News २ दिन अगाडि 
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
आइतबार कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृत्यु हुनेमध्ये एक जना जिप चालक र अर्की एक महिला छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जिपमा चालकसहित ११ जना सवार रहेको बताइएको छ। जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएका छन्।
दुर्घटनापछि घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ। जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप प्रहरी टोलीसमेत घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







