श्रमिक मागपत्र प्रमाणीकरण छिटो गर्न कूटनीतिक नियोगलाई सरकारको निर्देशन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिकको मागपत्र प्रमाणीकरण प्रक्रिया छिटोछरितो र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगलाई पत्राचार गर्दै मागपत्र प्रमाणीकरणको काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार रोजगारदाता मुलुकबाट मागपत्र प्रमाणीकरणका क्रममा आवश्यक पर्ने थप कागजातको विवरण रोजगारदाता कम्पनीलाई एकमुष्ट रूपमा उपलब्ध गराउनुपर्नेछ। साथै, मागपत्र प्रमाणीकरणको काम प्रचलित कानुनले तोकेको समयसीमाभित्रै सम्पन्न गर्न नियोगहरूलाई निर्देशन दिइएको छ।
अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा थप कागजात आवश्यक परेमा नियोगले त्यसको सूची एकैपटक अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ।
यसअघि कूटनीतिक नियोगहरूले पटक–पटक थप कागजात माग गर्दा प्रमाणीकरण प्रक्रिया लम्बिने गरेको तथा रोजगारदाता कम्पनीले अनावश्यक झन्झट र सास्ती बेहोर्नुपरेको गुनासो आउने गरेको थियो।
गन्तव्य मुलुकस्थित नेपाली नियोगबाट मागपत्र प्रमाणीकरण हुन लामो समय लाग्ने र अपुग कागजातबारे जानकारी एकैपटक नदिँदा रोजगारदातालाई समस्या हुने गरेको व्यापक गुनासोपछि सरकारले प्रक्रिया सुधार गर्न यस्तो निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
सरकारको पछिल्लो व्यवस्थाले मागपत्र प्रमाणीकरण प्रक्रियामा हुने अनावश्यक ढिलाइ घटाउनुका साथै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।







