भारत–चीन सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम भट्टराई

User Image Prime TV News २ दिन अगाडि
Image of भारत–चीन सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले दिल्लीमा जारी ब्रिक्स प्लस देशहरूको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताएका हुन्।

भारत र चीनजस्ता दुई ठूला छिमेकीको बीचमा रहेको तथा लामो राजनीतिक संक्रमणबाट गुज्रिरहेको नेपालले अब कुनै द्विविधामा नरही दुई देशबीचको सहकार्यबाट अधिकतम लाभ लिने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ।

भट्टराईले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्दा नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको उल्लेख गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा प्रयोग गरेको ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने अभिव्यक्तिको निहितार्थ नेपालले बुझ्नुपर्ने उनले बताएका छन्। साथै, भारतको अगुवाइमा सर्वसम्मतिले पारित भएको लामो प्रस्तावले दिएको बहुआयामिक दिशानिर्देशलाई समेत नेपालले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको सुझाव छ।

भट्टराईका अनुसार उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता सापेक्ष रूपमा साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न सक्दैनन्। आगामी दिनमा चीन र भारतबीच सम्भावित रूपमा बढ्ने प्रतिस्पर्धात्मक सहकार्यबाट लाभ लिन नेपालले कुशल कूटनीतिक प्रयास गर्नुपर्ने उनले बताएका छन्।

त्यसका लागि नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने योजनाबद्ध कामको सुरुआत तत्काल गर्नुपर्ने भट्टराईको धारणा छ। अन्यथा ‘दुई हात्ती लड्दा पनि, मिल्दा पनि घाँसकै नाश’ भन्ने परम्परागत लोकोक्तिको दुष्परिणाम नेपालले भोग्नुपर्ने उनले चेतावनी दिएका छन्।

भट्टराईले यस विषयमा नेपालका युवा सत्ताधारीहरूको समयमै ध्यान जानुपर्ने बताएका छन्।