एमालेले अझै सांसद किनबेचको राजनीति छाडेन : राजेन्द्र लिङ्देन

User Image Prime TV News २ दिन अगाडि
Image of एमालेले अझै सांसद किनबेचको राजनीति छाडेन : राजेन्द्र लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको आरोप लगाएका छन्।

बागमती प्रदेश सरकार गठनका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ। आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचजस्तो विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए।

एमालेको नामै लिएर आलोचना गरेका उनले आफ्नै पार्टीका सांसदहरूको प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। अरूलाई मात्र दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरीसमेत हेर्नुपर्ने उनको भनाइ थियो।

‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ,’ लिङ्देनले भने, ‘तर आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’

लिङ्देनले पार्टीको टिकट र मनोनयनबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधिका रूपमा काम गर्नुपर्ने बताए। पार्टीको नाममा चुनाव जितेर गएपछि पार्टीको निर्णय विपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा दल परिवर्तन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे।

‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ उनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’ यस्ता राजनीतिक विकृति अन्त्य गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।