सहरी बाढीको जोखिम घटाउन काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

User Image Prime TV News २ दिन अगाडि
Image of सहरी बाढीको जोखिम घटाउन काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

काठमाडौ । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ।

वर्षाको पानी संकलन गरी जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन्। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै वर्षा हुँदा पनि बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।

उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ। विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या पहिचान गरी क्रमशः सुधार गर्दै जानुपर्ने उनले बताइन्।

करिब तीन दशकअघि देखिन थालेका सहरी समस्याहरू अहिले ‘अर्बन फ्ल्यास फ्लड’ का रूपमा देखा पर्न थालेको डंगोलको भनाइ छ। काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा पानी पुनर्भरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन्।

अहिले गर्न सकिने कामबाटै समाधानको सुरुआत गर्नुपर्ने भन्दै डंगोलले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागिएको बताइन्। सहरी बाढीको दीर्घकालीन समाधानका लागि अध्ययन भइरहेको र अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा थप कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।