तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

User Image Prime TV News एक दिन अगाडि
Image of तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

काठमाडौ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्।

यस वर्ष भदौ २९ गते परेको तीजका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजमा ठूलो संख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा आउने भएकाले दर्शनलाई व्यवस्थित बनाउन विशेष व्यवस्था गरिएको कोषले जनाएको छ।

मन्दिरमा प्रवेश गर्न भक्तजनका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठ वटा लाइन को व्यवस्था मिलाइएको छ। तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।

त्यस्तै, दर्शनार्थीको आवतजावत सहज बनाउन ट्राफिक व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ। विशिष्ट व्यक्तिका सवारीसाधनका लागि कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था गरिएको छ। अन्य सवारीसाधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल तोकिएका छन्।

कोषले तीजमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई तोकिएका लाइन तथा पार्किङस्थलको प्रयोग गरी व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।