स्वतन्त्रता विरोधी कदम लामो समय टिक्दैन : केपी ओली
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रता विरोधी तथा प्रतिगामी कदम लामो समयसम्म टिक्न नसक्ने बताएका छन्।
आइतबार छापा पत्रकारहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै ओलीले पछिल्ला राजनीतिक गतिविधिप्रति टिप्पणी गर्दै स्वतन्त्रताविरोधी कदम लामो समयका लागि कायम रहन नसक्ने बताएका हुन्। ‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने।
उनले छापा माध्यमका पत्रकारहरूलाई धैर्य राख्न आग्रह गर्दै भने, ‘अलिकति धैर्यताका साथ, तर पर्खेर बस्ने होइन।’ आफ्नो भनाइलाई स्पष्ट पार्न ओलीले कवि लक्ष्मीप्रसाद देवकोटाको कविता उद्धृत गर्दै संघर्ष नगरी अधिकार प्राप्त नहुने धारणा राखे।
‘लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको एउटा कविता छ– “साँढे” भन्ने– नलडी कोही हुन्न विजेता। तपाईँहरूले नलडेर गिभअफ गरिदिनुभयो भने त सिद्धियो नि !’ उनले भने। ओलीले छापा पत्रकारहरूले उठाएका विषय सही रहेको बताउँदै त्यसमा एमालेले साथ दिने प्रतिबद्धता जनाए। उनले पत्रकारका जायज मुद्दामा पार्टीले संसद् र संसद्बाहिरबाट समेत आवाज उठाउने बताए।







