भोटेकोशी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास खर्च

User Image Prime TV News एक दिन अगाडि
Image of भोटेकोशी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास खर्च

काठमाडौ । भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने भएको छ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताएका छन्। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि भने प्रत्येक थप सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ।

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु.१५,००० र थप प्रत्येक सदस्यका लागि रु.२,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ।’

सरकारले नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि वैकल्पिक व्यवस्थासमेत गरेको छ। त्यस्ता परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प उपलब्ध गराइएको मन्त्री तिमिल्सिनाले बताएका छन्।

आवास सहयोगका लागि आवश्यक विवरण तथा तथ्यांक संकलन गर्न सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको समेत उनले जानकारी दिएका छन्। सरकारले बाढी प्रभावितको तत्कालीन आवास व्यवस्थासँगै स्थायी पुनर्स्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।