साढे चार महिनापछि नयाँ थलोबाट पुनः सञ्चालनमा आयो रिपोर्टर्स क्लब

User Image Prime TV News एक दिन अगाडि
Image of साढे चार महिनापछि नयाँ थलोबाट पुनः सञ्चालनमा आयो रिपोर्टर्स क्लब

काठमाडौ । करिब साढे चार महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल भदौ २८ गते तीजको दर खाने दिन पारेर काठमाडौंको थापागाउँस्थित नयाँ स्थानबाट औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।

क्लबका संस्थापक अध्यक्ष ऋषि धमलाले अब क्लबबाट नियमित रूपमा साक्षात्कार, विचार–विमर्श तथा पत्रकार सम्मेलनका कार्यक्रम सञ्चालन हुने बताए। उनले अब कसैले पनि रिपोर्टर्स क्लब बन्द गर्न नसक्ने दाबी गरे।

बालेन शाह नेतृत्वको सरकारको कदमका कारण इतिहास बोकेको क्लब केही समय बन्द हुनुपरेको उल्लेख गर्दै धमलाले क्लबले आफ्नो दायित्व चुक्ता गरेर नयाँ स्थानबाट पुनरागमन गरेको बताए। अब समसामयिक विषयमा नियमित साक्षात्कार कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने उनको भनाइ छ।

धमलाले सरकारलाई अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि किसिमको बन्देज नलगाउन आग्रह गर्दै रिपोर्टर्स क्लब र स्वतन्त्र नागरिक अभियान सरकारको नियतवश विरोधी नरहेको स्पष्ट पारे। उनले वर्तमान सरकारले जनमतअनुसार पाँच वर्षको पूर्ण कार्यकाल सञ्चालन गर्नुपर्ने बताए। तर सरकारले बाटो बिराएमा वा जनविरोधी निर्णय गरेमा क्लब र स्वतन्त्र नागरिक अभियानले सशक्त रूपमा रचनात्मक खबरदारी गर्ने उनको भनाइ छ।

‘हामी बालेन सरकारको विरोधी होइनौँ, यो सरकारले पाँच वर्ष काम गर्नुपर्छ। तर सरकारले बाटो बिराएमा खबरदारी गर्न पछि पर्दैनौँ,’ धमलाले भने।

धमलाले भारतमा भएको ब्रिक्स शिखर सम्मेलनमा नेपालको सहभागिता नहुनु कूटनीतिक कमजोरी भएको टिप्पणी गरे। कूटनीतिक प्रयासको अभावका कारण प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै ब्रिक्स सम्मेलनमा सहभागिता जनाउन नसकेको उनको दाबी छ।

यद्यपि, आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता सकारात्मक कदम भएको उनले बताए। महासभामा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर तथा बाढीपहिरोबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने धमलाको सुझाव छ।

कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने धनी राष्ट्रहरूसँग नेपालले जलवायुजन्य क्षतिको क्षतिपूर्ति औपचारिक रूपमा माग गर्नुपर्ने उनले बताए। भारत र चीन दुवै छिमेकी मुलुकसँग बालेन सरकारले सुमधुर र सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्नुपर्नेमा पनि धमलाले जोड दिए।

थापागाउँस्थित नयाँ हलबाट पुनः सञ्चालनमा आएको रिपोर्टर्स क्लबले अब नियमित साक्षात्कार, विचार–विमर्श तथा पत्रकार सम्मेलनलाई निरन्तरता दिने जनाएको छ। साढे चार महिनाको विश्रामपछि पुनः सञ्चालनमा आएको क्लबले आगामी दिनमा जनताका सरोकार र आवाजलाई प्राथमिकताका साथ उठाउने बताएको छ।