१८८ किमी प्रतिघण्टाको वेगमा आएको थियो भोटेकोशी बाढी, मुख्य कारण हिम–चट्टान पहिरो

User Image Prime TV News एक दिन अगाडि
Image of १८८ किमी प्रतिघण्टाको वेगमा आएको थियो भोटेकोशी बाढी, मुख्य कारण हिम–चट्टान पहिरो

काठमाडौ । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीको मुख्य कारण अविरल वर्षा नभई उच्च हिमाली क्षेत्रमा गएको भीषण हिम–चट्टान पहिरो रहेको पाइएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको दोस्रो प्रतिवेदनले बाढीको प्रारम्भिक गति प्रतिघण्टा करिब १८८ किलोमिटर रहेको देखाएको छ। केन्द्रले नेपाल–चीन सीमा क्षेत्र रसुवागढीदेखि चितवनको देवघाटसम्म बाढीको गति, प्रभाव र कारणबारे अध्ययन गरी प्रतिवेदन तयार गरेको हो।

प्रतिवेदनअनुसार चीनको तिब्बततर्फबाट बगेर आउने ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा आएको बाढीको उद्गमस्थलबाट रसुवागढीसम्मको करिब २२ किलोमिटर दूरी बाढीले ७ देखि ८ मिनेटमै पार गरेको थियो।

उच्च हिमाली क्षेत्रमा करिब ५ हजार २०० मिटरको उचाइमा रहेको झुण्डिएको हिमनदीको करिब २ वर्ग किलोमिटर क्षेत्र चट्टानसहित भत्किएर तल खसेपछि पानी, बरफ, चट्टान र लेदो मिसिएको ठूलो बहाव सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।

वर्षा होइन, हिम–चट्टान पहिरो मुख्य कारण

प्रतिवेदनले बाढी आउनुअघि त्यस क्षेत्रमा ठूलो वर्षा नभएको देखाएको छ।

रसुवाको लाङटाङस्थित क्यान्जिङ मौसम केन्द्रको तथ्यांकअनुसार बाढी आउनुअघिको ६ घण्टामा जम्मा १.५ मिलिमिटर वर्षा भएको थियो। त्यसैगरी, अमेरिकी भूगर्भ सर्वेक्षणले सोही समय बिहान ८ बजेर ३७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्पीय तरङ्ग मापन गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त तरङ्ग हिम–चट्टानको भीषण पहिरोका कारण उत्पन्न भएको हुनसक्ने अध्ययनको निष्कर्ष छ।

देवघाटसम्म पुग्दा २०१ किलोमिटर यात्रा

सीमावर्ती रसुवागढीबाट तल्लो तटीय क्षेत्रमा बाढीको गति क्रमशः घट्दै गएको थियो। नदीको ढलान कम हुँदै गएसँगै बहावको गति घटेको प्रतिवेदनमा उल्लेख छ।

उद्गमस्थलदेखि चितवनको देवघाटसम्म बाढीले कुल २०१ किलोमिटर दूरी ६ घण्टा ४२ मिनेटमा पार गरेको थियो। यस आधारमा देवघाटसम्मको औसत गति करिब ३० किलोमिटर प्रतिघण्टा रहेको देखिएको छ।

बाढी दिउँसो ३ बजेर २० मिनेटमा देवघाट पुगेको थियो। त्यसको करिब ४० मिनेटपछि अर्थात् ४ बजे देवघाटमा जलसतह अधिकतम ६.५७ मिटर पुगेको थियो। त्यहाँ बाढीको अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको प्रतिवेदनमा उल्लेख छ।

करिब २ करोड घनमिटर अतिरिक्त बाढीको पानी देवघाट क्षेत्रबाट पार भएको अध्ययनले देखाएको छ।

६ लाख ७८ हजारभन्दा बढीलाई एसएमएस

बाढीको पूर्वसूचना प्राप्त भएपछि जल तथा मौसम विज्ञान विभागले आकस्मिक चेतावनी संयन्त्र सक्रिय गरेको प्रतिवेदनमा उल्लेख छ।

बिहान ९ बजेर ५ मिनेटदेखि ९ बजेर १४ मिनेटसम्मको नौ मिनेट अवधिमा नेपाल टेलिकम र एनसेलमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका ६ लाख ७८ हजार २९५ जना नागरिकलाई सतर्कतासम्बन्धी एसएमएस पठाइएको थियो।

यद्यपि, प्रभावित क्षेत्रका कतिपय स्थानीयले बाढी आउनुअघि एसएमएस प्राप्त नगरेको बताएका छन्। नेटवर्क समस्याका कारण तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह हुन नसकेको अध्ययनमा उल्लेख छ।

स्थायी तालका कारण पुनः बाढीको जोखिम

बाढीपछि उपल्लो ल्हेन्दे खोलामा दुई वटा प्राकृतिक बाँध बनेर ‘लेक–१’ र ‘लेक–२’ नाम दिइएका अस्थायी ताल बनेका छन्। ती तालका कारण भविष्यमा पुनः द्वितीयक बाढीको जोखिम रहन सक्ने प्रतिवेदनले चेतावनी दिएको छ।

यसैबीच, नेपालमै पहिलोपटक बाढीको प्रत्यक्ष दृश्य अनुगमनका लागि सीमा नजिकैको टिमुरेमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। नदी सतहभन्दा करिब ७० मिटर उचाइमा जडान गरिएको क्यामेराबाट चौबीसै घण्टा प्रत्यक्ष दृश्य प्रसारण हुने व्यवस्था मिलाइएको छ।

उक्त निगरानी प्रणालीले भविष्यमा ल्हेन्दे खोला तथा भोटेकोशी क्षेत्रमा बाढीको अवस्था तत्काल पहिचान गरी पूर्वसूचना प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।