आज हरितालिका तीज

User Image Prime TV News एक दिन अगाडि
Image of आज हरितालिका    तीज

काठमाडौ । हिन्दू धर्मावलम्बी महिलाहरूले आज देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्।

भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका तीजको व्रत बस्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार विवाहित महिलाहरूले पतिको दीर्घायु, सुख–शान्ति र पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्छन्।

अविवाहित महिलाहरूले भने सुयोग्य वरको कामना गर्दै व्रत बस्ने चलन छ। शास्त्रमा महिला र पुरुष दुवैले यो व्रत बस्न सक्ने उल्लेख भए पनि नेपाली समाजमा महिलाले व्रत बस्ने परम्परा बढी प्रचलित छ।

हरितालिका तीजका दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा तथा आराधना गरे सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस अवसरमा महिलाहरू समूहमा भेला भएर पूजा गर्नुका साथै नाचगान र तीजका गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने गर्छन्।

पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका सखीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा लगेका थिए।

त्यस स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवको आराधना गरेपछि शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक कथन छ। सखीहरूले पार्वतीलाई हरण गरेर लुकाएकाले संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ नाम रहन गएको मानिन्छ।

तीजको व्रत निराहार, जलाहार वा फलाहारमध्ये आफ्नो स्वास्थ्यअनुकूल तरिकाले बस्न सकिने धार्मिक मान्यता छ। स्वास्थ्य कमजोर भएका वा निराहार बस्न नसक्नेहरूले फलफूल, दूध तथा पानीलगायतका वस्तु सेवन गर्न सक्ने उल्लेख शास्त्रमा गरिएको छ। औषधि सेवन गर्दा पनि व्रत भङ्ग नहुने धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

हरितालिका तीज नेपाली समाजमा धार्मिकसँगै सांस्कृतिक पर्वका रूपमा पनि मनाइन्छ। महिलाहरूले तीजका गीतमार्फत धार्मिक आस्था, पारिवारिक जीवन तथा आफ्ना सुख–दुःख र भावनाहरू व्यक्त गर्ने गरेका छन्।