होर्मुज जलमार्गबारे इरान र खाडी देशबीच हुने बैठक स्थगित
Prime TV News एक दिन अगाडि 
काठमाडौ । होर्मुज जलमार्गको आवागमन तथा सुरक्षाबारे इरान र खाडी मुलुकहरूबीच ओमानमा हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ।
इरानी विदेश मन्त्रालयका अधिकारीका अनुसार केही क्षेत्रीय देशको अनुरोध तथा इरान र ओमानको संयुक्त निर्णयपछि बैठक स्थगित गरिएको हो। ओमानका विदेशमन्त्री बदर अलबुसैदीले पनि आमसहमति निर्माण गर्ने प्रयासका लागि बैठक स्थगित गरिएको बताएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार होर्मुज जलमार्गमा इरानी व्यावसायिक मालवाहक जहाजमाथि आक्रमण हुँदा एकजनाको मृत्यु भएको केही घण्टापछि बैठक स्थगित गर्ने निर्णय सार्वजनिक भएको हो।
ओमान लामो समयदेखि इरान र अरब मुलुकहरूबीच संवाद तथा मध्यस्थतामा सक्रिय रहँदै आएको छ। जारी तनावका बीच पनि ओमानले क्षेत्रीय वार्ता अघि बढाउने प्रयास गर्दै आएको छ।
होर्मुज जलमार्गको दक्षिणी किनारा ओमानको भूभागसँग जोडिएकाले जलमार्गमा हुने अवरोधबाट ओमानसमेत प्रत्यक्ष प्रभावित हुन्छ। गत जुलाईमा ओमानले होर्मुज जलमार्ग व्यवस्थापनका लागि इरान र खाडी मुलुकबीच संयुक्त क्षेत्रीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो।
प्रस्तावमा जलमार्गको नियन्त्रण ५०–५० प्रतिशत बाँडफाँट गर्ने तथा व्यापारिक जहाजबाट स्वेच्छिक शुल्क उठाएर त्यसबाट प्राप्त रकम दुवै पक्षलाई उपलब्ध गराउने व्यवस्था सुझाइएको थियो।
ओमानको प्रस्ताव मलाक्का जलमार्गमा लागू व्यवस्थासँग मिल्दोजुल्दो रहेको बताइएको छ। मलाक्का जलमार्ग पार गर्ने जहाजलाई जलयातायात, वातावरण संरक्षण तथा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन स्वेच्छिक योगदान गर्न आग्रह गरिन्छ।
तर इरानले भने स्वेच्छिक शुल्कको अवधारणा स्वीकार गरेको छैन। होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने व्यापारिक जहाजबाट शुल्क लिनुपर्ने भए त्यो अनिवार्य हुनुपर्ने इरानको धारणा रहँदै आएको छ। यस विषयमा सहमति जुट्न नसक्दा जलमार्ग व्यवस्थापनबारे क्षेत्रीय विवाद कायमै छ।







