बाढीको विपत्तिबीच संयम र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

User Image Prime TV News एक दिन अगाडि
Image of बाढीको विपत्तिबीच संयम र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन्।

तीज पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भोटेकोशीमा आएको प्रलयकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको दुःखद परिस्थितिमा विगतका वर्षझैँ उल्लासपूर्वक पर्व मनाउने अवस्था नरहेको बताएका हुन्।

उनले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै तीज मनाउन आग्रह गरेका छन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले अपिल गरेका छन्।

प्रचण्डले दुःखको समयमा देखाइने संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।