आगामी तीन दिन नदीमा जलसतह बढ्ने पूर्वानुमान, २१ जिल्लामा आकस्मिक बाढीको जोखिम

User Image Prime TV News एक दिन अगाडि
Image of आगामी तीन दिन नदीमा जलसतह बढ्ने पूर्वानुमान, २१ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।

महाशाखाले सोमबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

तर आगामी तीन दिन कोशी र नारायणी जलाधारअन्तर्गतका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, देवघाटस्थित नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाकाली नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने जलसतह सामान्य बढ्ने अनुमान छ।

२१ जिल्लामा आकस्मिक बाढीको जोखिम

महाशाखाका अनुसार सोमबार सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ, बाजुरा लगायत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैगरी, मंगलबार सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। बुधबार कोशी र मधेस प्रदेशका केही साना नदीमा पनि बहाव अचानक बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।