विपद् प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित जिल्लाका जनप्रतिनिधिसँग छलफल थालेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा बाढीपछिको अवस्था, प्रभावित क्षेत्रमा देखिएका समस्या, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा छलफल भएको थियो ।
छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा जोडिएका छन्।
त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया छलफलमा उपस्थित छन्।
तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाबाट गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना पनि छलफलमा सहभागी छन्। छलफलमार्फत विपद् प्रभावित क्षेत्रमा तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माण तथा पुनरुत्थानसम्मका प्राथमिकता तय गर्ने विषयमा सुझाव लिइने बताइएको छ।







