नेकपाको एकता महाधिवेशन कार्यतालिका प्रभावित, तीजपछि नयाँ तालिका आउने

User Image Prime TV News एक दिन अगाडि
Image of नेकपाको एकता महाधिवेशन कार्यतालिका प्रभावित, तीजपछि नयाँ तालिका आउने

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीको पूर्वनिर्धारित एकता राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका प्रभावित भएको छ।

पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसअनुसारका प्रारम्भिक काम अघि बढ्न सकेका छैनन्। केन्द्रीय कार्यसंयोजन समितिको वैशाखमा सम्पन्न बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार असार–साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने र भदौ १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो। यस्तै, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो।

तर, निर्धारित समयअनुसार सदस्यता नवीकरणदेखि अधिवेशनका अन्य प्रक्रिया अघि बढ्न सकेका छैनन्। नेकपा प्रवक्ता प्रकाश ज्वालाले भने केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन गरिने बताएका छन्। उनका अनुसार तीज पर्वलगत्तै केन्द्रीय संयोजन समितिको बैठक बोलाएर नयाँ कार्यतालिका तय गरिनेछ।

‘महाधिवेशन कार्यतालिका अनुसार पार्टी सदस्यता नवीकरण पनि हुन सकेको छैन। भोटेकोशी बाढीका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएको छ,’ ज्वालाले भने, ‘यी सबै विषयलाई ध्यानमा राखेर हामी छिट्टै केन्द्रीय संयोजन समिति बोलाउँछौँ।’

तल्ला तहका समितिहरूले अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि नै नहुँदा समस्या भएको गुनासो गर्दै आएका छन्। प्रवक्ता ज्वालाका अनुसार यो विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण भएको छ। अब बस्ने केन्द्रीय संयोजन समिति बैठकले अधिवेशनसम्बन्धी आवश्यक कार्यविधि तयार पार्नुका साथै मङ्सिरमै महाधिवेशन सम्पन्न गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गर्ने उनले बताए।

फागुनमा भएको निर्वाचनअघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत २५ घटकसँग पार्टी एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। सोही एकताको प्रक्रियालाई संस्थागत गर्न नेकपाले राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको हो।