कांग्रेसको संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने
Prime TV News २३ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगबाट अघि बढाउने निर्णय गरेको छ।
सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयबाट तय गरिएको प्रक्रियाअनुसार महाधिवेशनमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो।
यसअघि कांग्रेसको संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा सोही हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो।
तर, संस्थापन इतर समूहले उक्त निर्णय स्वीकार नगर्ने संकेत गरेको छ। समूहले आफूहरू कुनै पद वा व्यक्तिगत स्वार्थका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको दाबी गर्दै नेता उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ।
बैठकपछि नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको बताए। उनले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत समूहको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा जिम्मेवारी लिन चाहने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो।
यसैबीच, संस्थापन इतर समूहले सोमबार आकस्मिक बैठकसमेत बोलाएको छ। बैठक चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा बस्ने बताइएको छ। कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया, प्रतिनिधित्व र नेतृत्व चयनसम्बन्धी विषयमा दुई समूहबीच मतभेद बढ्दै गएपछि महाधिवेशन तयारी थप पेचिलो बन्दै गएको छ।







