कांग्रेस इतर समूहको आह्वान : असोज १५ देखि हुने वडा अधिवेशनमा सहभागी बनौँ

User Image Prime TV News २० घण्टा अगाडि
Image of कांग्रेस इतर समूहको आह्वान : असोज १५ देखि हुने वडा अधिवेशनमा सहभागी बनौँ

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रियामा भने सहभागी नहुन समूहले आग्रह गरेको हो। इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेको छ।

सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक कोइरालाले असोज १५ गतेदेखि हुने वडा अधिवेशन हुँदै पार्टीका विभिन्न तहका अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरे।

कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशन मंसिर १६ देखि १९ गतेसम्म गर्ने मिति तय गरेको छ। तर, इतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी छुट्टै मिति निर्धारण गरेको छ।संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय दायित्व र संगठनात्मक एकतालाई केन्द्रमा राखेर सहमति तथा सहकार्यका आधारमा महाधिवेशन सम्पन्न गर्न आफूहरूले निरन्तर प्रयास गरेको उल्लेख छ।

तर, पार्टीभित्रको विवाद समाधानका लागि गरिएका प्रयासलाई सकारात्मक रूपमा ग्रहण नगरिएको विज्ञप्तिमा दाबी गरिएको छ। विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र संगठनको एकतामा थप क्षति नपुर्‍याउन आग्रह गरिए पनि त्यसको सुनुवाइ नभएको कोइरालाको भनाइ छ।

उनले संस्थापन पक्षले महाधिवेशनको मिति र कार्यतालिका एकलौटी रूपमा घोषणा गरेको आरोपसमेत लगाएका छन्। यस्तै, कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने इतर समूहको धारणा छ।

यसैबीच, कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर संस्थापन र संस्थापन इतर समूहबीच विवाद चर्किँदै गएको छ।