युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्न मोदी र सी तयार

User Image Prime TV News ४ घण्टा अगाडि
Image of युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्न मोदी र सी तयार

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले रुस–युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार मोदी र सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युद्ध अन्त्यका लागि आफ्नो प्रभाव प्रयोग गर्दै सहयोग गर्ने प्रस्ताव गरेका हुन्।

पुटिनले उनीहरूको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएको क्रेमलिनले जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारतको नयाँ दिल्लीमा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा तीन नेताबीच यस विषयमा छलफल भएको जानकारी दिएका छन्।

उनका अनुसार कुनै देशले आफ्नो प्रभाव प्रयोग गरेर युक्रेनलाई वार्ताका लागि थप लचकता देखाउन प्रोत्साहित गरे रुसले त्यसको स्वागत गर्नेछ।

रुसले शान्ति वार्ता पुनः सुरु गर्न आफू तयार रहेको बताउँदै आएको छ। तर उसले पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा बाँकी रहेको भूभागमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने सर्त अघि सारेको छ। युक्रेनले भने रुसको यस्तो सर्त अस्वीकार गर्दै आएको छ।

यसै महिनाको सुरुवातमा रुसी राष्ट्रपति पुटिनले पनि शान्ति सम्झौताको सम्भावना रहेको बताएका थिए। यद्यपि उनले युद्धको स्थायी समाधान रुस र युक्रेनबीचको प्रत्यक्ष प्रयासबाटै हुनुपर्नेमा जोड दिएका थिए।

मोदी र सीको प्रस्तावले लामो समयदेखि जारी युद्ध अन्त्यका लागि क्षेत्रीय शक्तिहरूको सम्भावित मध्यस्थता र कूटनीतिक प्रयासबारे नयाँ चर्चा सुरु भएको छ।