आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गर्दै नेपाली महिला
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाली महिलाले आज अरुन्धती सहित सप्तऋषिको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने धार्मिक परम्परा छ। ऋषि पञ्चमीका दिन महिलाहरू बिहानै उठेर नित्यकर्म पूरा गरेपछि तीजको व्रत पारायण गर्छन्।
त्यसपछि नदी, खोला, ताल वा पोखरीमा गएर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यस वर्ष चौथी तिथि टुटेकाले तीजको व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी परेको छ।
त्यसैले तीजको व्रत पारायण गरेपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको भनाइ छ। हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी महिलाले मात्र मनाउने पर्वका रूपमा वर्णन गरिएको छ।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा कुनै त्रुटि वा छुवाछुत भए त्यसबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्ने गरिन्छ। स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ।
ऋषि पञ्चमीसँग जोडिएको धार्मिक कथाअनुसार इन्द्रले विश्वरूपको हत्या गरेपछि लागेको ब्रह्महत्याको दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको थियो। यही धार्मिक विश्वाससँग रजस्वला तथा ऋषि पञ्चमीको परम्परा जोडिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।
पूजापछि महिलाले नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल तथा कर्कलालगायतका परिकार खाएर एक छाक हविष्य बस्ने चलन छ। ऋषि पञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्न महिला भक्तजनको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाले नदी किनार वा घरमै सप्तऋषिको पूजा–आराधना गर्ने गरेका छन्।







