ई–जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ

User Image Prime TV News ४ घण्टा अगाडि
Image of ई–जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले ई–जीपीमा साइबर सुरक्षा जोखिम देखिए त्यसको प्राविधिक समाधान खोज्नुपर्ने, तर प्रणाली नै अनिश्चितकालका लागि बन्द गर्नु उचित नभएको बताएका छन्।

उनले ई–जीपीलाई तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्। घिसिङले विद्युतीय खरिद प्रणालीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, नियमित ब्याकअप तथा आपत्कालीन अवस्थामा प्रणाली पुनः सञ्चालन गर्न सकिने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उनका अनुसार भदौ, असोज र कात्तिकमा नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनले गति लिने भएकाले ई–जीपी बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुनेछन्।

यसले सरकारको समग्र विकास योजनामै असर पार्न सक्ने उनको भनाइ छ। ई–जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किँदा बोलपत्र आह्वानदेखि प्रस्ताव खोल्ने, मूल्याङ्कन गर्ने र प्रत्येक चरणको समयसीमा व्यवस्थापन गर्नसम्म कठिनाइ उत्पन्न हुने घिसिङले बताएका छन्।

यसबाट सार्वजनिक खरिदमा विगतमा देखिएका मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता विकृति पुनः बढ्न सक्ने उनको आशङ्का छ।

उनले लामो समयसम्म प्रणाली अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाता प्रभावित भइरहेको पनि बताएका छन्। उनका अनुसार समस्या समाधानका नाममा प्रणाली बन्द राख्नुको सट्टा साइबर सुरक्षा जोखिम तत्काल पहिचान गरी नियन्त्रण र प्राविधिक समाधानमार्फत ई–जीपी सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

घिसिङले डिजिटल प्रणालीमा समस्या आउन सक्ने भए पनि त्यसको समाधान प्रणाली नै बन्द गर्नु नभएको बताएका छन्। सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सरकारले कागजी तथा अपारदर्शी प्रक्रियातर्फ फर्किने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ।