अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै, नेपाल–भारत सहकार्य र भोटेकोसी पुनर्निर्माणमा छलफल हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्।
भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा उनी असोज १ गते नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन्। सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारतमा रहनेछन्।
भ्रमणका क्रममा उनले नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नुका साथै भोटेकोसी क्षेत्रमा आएको विपद्पछिको पुनर्निर्माणका विषयलाई समेत प्राथमिकताका साथ उठाउनेछन्।
भारत भ्रमणका क्रममा वाग्लेले द्विपक्षीय बैठकमा सहभागिता जनाउने कार्यक्रम छ। यस क्रममा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गर्ने जनाइएको छ। भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
उक्त कार्यक्रममा उनले नेपालको आर्थिक अवस्था, लगानीको सम्भावना तथा नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। अर्थमन्त्रीको यो भ्रमणलाई नेपाल–भारतबीच आर्थिक सहकार्य विस्तार तथा विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग जुटाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।







