जलवायु क्षतिबारे राष्ट्रसंघको महासभामा नेपालको आवाज उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिबारे संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा स्पष्ट रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
मुस्ताङको जोमसोममा बुधबारदेखि सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ का लागि शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालले बेहोर्नुपरेका समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने बताएका हुन्।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) ले सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री शाहको शुभकामना सन्देश पढेर सुनाएका थिए। सन्देशमा प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिमपहिरो, हिमताल विस्फोट, हिमनदीको प्रवाहमा वृद्धि, पानीका मुहान सुक्ने तथा मौसममा अस्वाभाविक परिवर्तनजस्ता समस्या बढ्दै गएको उल्लेख गरेका छन्।
जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रका बासिन्दाले बढी भोग्नुपरेको भन्दै उनले स्थानीय जनजीवन, कृषि तथा जैविक विविधतामा समेत यसको गम्भीर प्रभाव पर्न थालेको बताएका छन्। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको प्रभाव सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
साथै, जलवायुजन्य जोखिमको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको उनको भनाइ छ। ‘संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षतिबारे हामीले स्पष्ट पार्ने नै छौँ,’ प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको अगुवाइमा गण्डकी प्रदेश सरकार, स्थानीय तह, अन्नपूर्ण क्षेत्र तथा अन्य निकायको सहयोगमा भदौ ३० र ३१ गते जोमसोममा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, स्थानीय तहको भूमिका तथा जलवायुजन्य विपद् न्यूनीकरण र अनुकूलनका उपायबारे छलफल हुने जनाइएको छ।







