रसुवा बाढी : १ हजार ३९९ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

User Image Prime TV News ५२ मिनेट अगाडि
Image of रसुवा बाढी : १ हजार ३९९ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौ । रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा मानव अंग रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता छन्।

बेपत्ता हुनेमा २ हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्। बाढीमा परी घाइते भएका ९ हजार २८७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ।

पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको काफ्लेले जानकारी दिए। उनका अनुसार शवको पहिचान प्रक्रिया अघि बढाउन मृतकका शवबाट १ हजार २८६ तथा बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ वटा डीएनए नमुना संकलन गरिएको छ।

बाढीपछि ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि खोज तथा उद्धारसँगै शव पहिचानको प्रक्रिया पनि चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।