डेभिड वार्नरले खेल्ने भए एनपीएल, काठमान्डु गोर्खाजमा अनुबन्ध

User Image Prime TV News ३६ मिनेट अगाडि
Image of डेभिड वार्नरले खेल्ने भए एनपीएल, काठमान्डु गोर्खाजमा अनुबन्ध

काठमाडौ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।

उनलाई काठमान्डु गोर्खाजले आगामी सिजनका लागि अनुबन्ध गरेको हो। गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको जानकारी दिएको छ। वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित तथा ठूला विदेशी खेलाडी बनेका छन्।

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था ‘सिम स्ट्राइक’ले समेत वार्नरले एनपीएल खेल्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उक्त पोस्टलाई वार्नरले लाइक गरेपछि उनको नेपाल आगमनबारे चर्चा थप चुलिएको थियो।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकपको उपाधि जितेका छन्। उनले सन् २०१५ र २०२३ मा अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, वार्नर २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप विजेता अस्ट्रेलियाली टोलीका सदस्य हुन्।

वार्नर अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक प्रहार गर्ने खेलाडीसमेत हुन्। उनले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन्। विश्व क्रिकेटमा लामो समय प्रभाव जमाएका वार्नरको आगमनले एनपीएलको आगामी सिजनको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

काठमान्डु गोर्खाजले उनको अनुभव र आक्रामक ब्याटिङबाट टोलीलाई ठूलो फाइदा पुग्ने विश्वास लिएको छ ।