एकल बहुमत प्राप्त गर्ने गरि तयारी गर्न कार्यकर्तालाई एमाले महासचिव पोखरेलको निर्देशन


काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा धुव्रिकरण गर्न नसक्दा राजनीतिक अस्थीरता अन्त्य हुन नसकेको बताएका छन् ।
एमाले नेता आनन्द पोखरेलद्वारा लिखित कम्युनिष्ट पार्टी निर्माणका आधार पुस्तक लोकार्पण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिभित्रको ठूलो चूनौतिको रुपमा रहेको अस्थीरता जनमतलाई नीतिका आधारमा धुव्रिकरण गर्न नसक्नुको परिणाम भएको बताए ।
लोकप्रिय मत पनि ३४–३५ प्रतिशतमात्रै प्राप्त भएको अवस्थामा अहिलेसम्म गरेका अभ्यासहरुबाट निर्णायक शक्ति हासिल गर्न कठिन रहेको उनकाे भनाई थियो । संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म स्थापीत गर्न जरुरी रहको भन्दै महासचिव पोखरेलले एमालेको नीति, पार्टीको मात्रै नभइ राष्ट्रको नीति बनाउने सामर्थ्य राख्न सके मात्रै पार्टी निर्णायक शक्ति बन्न सक्ने उल्लेख गरे ।
सरकार बनाउनका लागि भिन्न बिचार भएका दलसंग सहकार्य गर्नुपर्ने अवस्थामा रहेकाले एकल बहुमत प्राप्त गर्ने गरि तयारी गर्नुपर्ने जिकिर समेत गरे । यस्तै विधान महाधिवेशनपछि पार्टी व्यवस्थित हुने र पार्टी निर्माणका लागि वैधानिक सीमालाई पनि परिष्कृत गर्दै लैजाने समेत पोखरेलको भनाई थियो ।