आईसीयूमा अन्तर्वार्ता लिनु कतिको ‘इथिकल प्राक्टिस’ हो ? : समीक्षा बास्कोटा
Prime TV News २६ मिनेट अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयू कक्षमै गएर बिरामीको अन्तर्वार्ता लिनु र दिनु कतिको ‘इथिकल प्राक्टिस’ हो भन्दै प्रश्न उठाएकी छन्।
भोटेकोसी बाढीको सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूको अस्पतालको आईसीयू कक्षमै पुगेर सञ्चारमाध्यममा अन्तर्वार्ता लिइएको विषयमा उनले प्रश्न उठाएकी हुन्। विपद्का बेला स्वास्थ्य पत्रकारिताको सीमा र जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने बताउँदै बास्कोटाले आईसीयूमा अन्तर्वार्ता लिने र दिने विषय गम्भीर रहेको बताइन्।
उनका अनुसार आईसीयूमा बिरामीका परिवारका सदस्यलाई समेत निश्चित प्रोटोकल र तोकिएको समयमा मात्रै प्रवेश दिइन्छ। ‘आईसीयूमा अन्तर्वार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो?’ भन्दै उनले प्रश्न गरिन्।
अन्य बिरामीसमेत आईसीयूमा रहेको भए उनीहरूको जीवन जोखिममा पार्न मिल्छ कि मिल्दैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो। बास्कोटाले सम्बन्धित निकाय तथा चिकित्सकहरूले अन्तर्वार्ताका लागि अनुमति दिने क्रममा आवश्यक संवेदनशीलता अपनाए कि अपनाएनन् भन्ने प्रश्नसमेत उठाइन्।
‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन,’ उनले भनिन्, ‘मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ।’ उनले विपद्का बेला सञ्चारमाध्यमले समाचार संकलन गर्दा बिरामीको स्वास्थ्य, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
सांसद बास्कोटाले मेडिकल लापरबाहीका विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको धारणा पनि राखिन्। स्वास्थ्य संस्था तथा चिकित्सकीय सेवामा हुने लापरबाहीको जवाफदेहिता सुनिश्चित गर्न आवश्यक कानुन निर्माण गर्नुपर्ने उनको भनाइ छ।







