सल्यानमा शृङ्खलाबद्ध दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण
Prime TV News २५ मिनेट अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानमा पछिल्लो समय शृङ्खलाबद्ध रूपमा भइरहेका सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद मल्लले रसुवा बाढीको पीडा कायमै रहेका बेला सल्यानमा जीप तथा मोटरसाइकल दुर्घटनाका घटना बढेको र त्यसबाट नागरिकको ज्यान गइरहेको बताएका हुन्।
उनले दुर्घटनामा घाइते भएकाहरूको उपचार, यात्रु बिमा, पीडित परिवारलाई राहत तथा श्रमिकको सामाजिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।
सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार, चालकको नियमित स्वास्थ्य परीक्षण, सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण तथा जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘जोखिम पहिचान गरेर सुधारतर्फ काम गर्न’ सरकारलाई आग्रह गर्दै मल्लले दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए।
यसैबीच, सांसद मल्लले रसुवा बाढीपछिको खोज तथा उद्धार कार्य कहिलेसम्म पूरा हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन्। विपद्का कारण प्रभावित बालबालिकाको पठनपाठन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनःस्थापनाबारे पनि सरकारले स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने उनले बताए।
बाढी प्रभावित क्षेत्रमा उद्धारपछि शिक्षा, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले सरकारले विपद् व्यवस्थापनलाई दीर्घकालीन योजनासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे।







