नेप्सेमा ४८ अंकको उछाल, कारोबार रकम ८ अर्ब नाघ्यो

User Image Prime TV News २४ मिनेट अगाडि
Image of नेप्सेमा ४८ अंकको उछाल, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ।

खरिदकर्ता सक्रिय भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ बिन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार ८ अर्ब २९ करोड १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो असार ३० गतेपछि भएको सबैभन्दा ठूलो कारोबार हो। असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर किनबेच भएका छन्। बजारमा खरिदकर्ताको दबाब बढेपछि अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ।

यस दिन नेप्सेका सबै १३ वटै उपसूचक बढेर बन्द भएका छन्। विशेषगरी जीवन बीमा, निर्जीवन बीमा र वित्त समूहका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यी समूहको सकारात्मक प्रदर्शनले समग्र बजार वृद्धिमा समेत सहयोग गरेको छ।

कारोबार भएका कम्पनीमध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रहेको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश घोषणा गरेपछि यसको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।

त्यस्तै, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकका सेयरमा पनि उल्लेख्य कारोबार भएको छ।

मंगलबारको बजार गतिविधिले पछिल्लो समयको तुलनामा लगानीकर्ताको खरिद सक्रियता बढेको संकेत गरेको छ। नेप्से परिसूचकमा आएको सुधार, सबै उपसूचक हरियो हुनु र कारोबार रकम ८ अर्ब रुपैयाँभन्दा माथि पुग्नुले बजारमा सकारात्मक माहोल बनेको देखिएको छ।