आइतबारको बिदा हटाएर शनिबार मात्रै कायम गर्न राप्रपा सांसदको माग
Prime TV News २६ मिनेट अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले सातामा दिइँदै आएको दुई दिन सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन बिदा दिने व्यवस्थाले शैक्षिक संस्थाको पठनपाठन प्रभावित भएको बताए । उनका अनुसार आइतबारको बिदाका कारण विद्यालय तथा अन्य क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।
उनले आइतबारको बिदा आवश्यक नभएको भन्दै सरकारले पहिलेकै व्यवस्था कायम गरी शनिबार मात्र सार्वजनिक बिदा दिनुपर्ने बताए । ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँमा यसले नकारात्मक असर पारिरहेको छ,’ उनले भने, ‘त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस् ।’
सांसद भाटले विपद्को समयमा मुस्लिम समुदायसहित विभिन्न समुदायले सहयोग गरेको भन्दै त्यसका लागि धन्यवादसमेत व्यक्त गरे । सरकारले मध्यपश्चिममा उत्पन्न तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि खपत घटाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
हाल शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिइँदै आएको छ ।







