कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क
Prime TV News २४ मिनेट अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ जारी गर्दै वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क र आवश्यक मापदण्ड तोकेको हो । निर्देशिकालाई सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ ।
निर्देशिकाअनुसार कांग्रेस सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ । उम्मेदवारी दर्ताका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
केन्द्रीय उपसभापति र महामन्त्रीका उम्मेदवारका लागि सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ । यी पदमा उम्मेदवारी दर्ता शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा २० हजार रुपैयाँ शुल्क लाग्नेछ ।
केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ भने उम्मेदवारी शुल्क ११ हजार रुपैयाँ तोकिएको छ । प्रदेश तहमा सभापतिको उम्मेदवार बन्न २० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । प्रदेश उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यसैगरी, वडा सभापतिका लागि एक हजार रुपैयाँ उम्मेदवारी शुल्क लाग्नेछ । वडा उपसभापति, सचिव र सहसचिवका लागि सात सय रुपैयाँ तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको निर्वाचन निर्देशिकामा उल्लेख छ ।







