गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग
Prime TV News २२ मिनेट अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी र व्यवसायीसँगको सम्बन्धबारे गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्। स्वार्थको द्वन्द्व हुन नदिन र आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले गृहमन्त्री गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी, बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। तर, उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिनुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको बताए। उनले छानबिनका लागि मार्ग प्रशस्त गर्न गुरुङले राजीनामा दिएको कदमलाई राजनीतिक संस्कारका रूपमा लिइएको भए पनि प्रतिवेदन सार्वजनिक नगरी पुनः मन्त्री नियुक्त गरिएकाले जनतामा प्रश्न उठेको बताए।
सांसद केरुङले छानबिन प्रतिवेदनका आधारमा गृहमन्त्री गुरुङलाई कुनै आरोपबाट निर्दोष ठहर गरिएको हो भने त्यसका आधार, प्रमाण र बयानसमेत सार्वजनिक गर्न सरकारसँग माग गरे।







