सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन मन्त्रालयको निर्देशन
Prime TV News २३ मिनेट अगाडि 
काठमाडौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य रूपमा रमाना दिन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई पुरानै कार्यालयमा राखेर काम गराउने प्रवृत्ति रोक्न आग्रह गरेको हो ।
सरुवा भएपछि पनि कर्मचारीलाई रमाना नदिने र पुरानै कार्यालयबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ । यसरी कर्मचारीलाई लामो समयसम्म पुरानै कार्यालयमा राख्दा नयाँ कार्यस्थलमा जनशक्ति अभाव हुने र स्थानीय तहको सेवा प्रवाहमा समेत असर पर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना दिनुपर्ने स्पष्ट पारेको छ । निर्धारित समयपछि पनि पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा त्यस्तो रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिई तलबभत्ता भुक्तानी गरेको भेटिएमा लेखापरीक्षणका क्रममा त्यसलाई बेरुजु कायम गर्न पनि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरेको छ । साथै, निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत अनुरोध गरिएको छ ।
मन्त्रालयले सरुवा सम्बन्धी निर्णय हुने तर कार्यान्वयन नहुने अवस्था अन्त्य गर्न यस्तो कदम चालिएको जनाएको छ । सरुवा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुँदा कर्मचारी व्यवस्थापन व्यवस्थित हुनुका साथै स्थानीय तहमा आवश्यक जनशक्ति उपलब्ध हुने मन्त्रालयको अपेक्षा छ ।







