मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

User Image Prime TV News २३ मिनेट अगाडि
Image of मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौं–हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडक हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको विद्युतीय गाडी दिउँसो करिब २ बजे सडकबाट झन्डै एक हजार मिटर तल खसेको हो ।

दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दुई पुरुष र दुई महिला छन् । उनीहरूमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका बेला गाडीमा चालकसहित आठ जना सवार थिए । मृतक र घाइतेको पहिचान भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।