राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्छौँ : मन्त्री खनाल

User Image Prime TV News २३ मिनेट अगाडि
Image of राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्छौँ : मन्त्री खनाल

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए ।

भारत भ्रमणका क्रममा आफूले ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज छैन’ भनेर दिएको अभिव्यक्तिबारे पनि मन्त्री खनालले संसदमा स्पष्टीकरण दिएका छन् । उनले उक्त भनाइ नेपालको इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता वा राष्ट्रिय हितसँग सम्बन्धित नभएको स्पष्ट पारे ।

उनका अनुसार ‘पुरानो ब्यागेज’ भन्नाले विगतमा देखिएको आन्तरिक राजनीतिक ध्रुवीकरण र परराष्ट्र नीति तथा कूटनीतिलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिलाई जनाइएको हो । मन्त्री खनालले छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिका लागि प्रयोग गर्ने अभ्यासलाई विगतको ‘बोझ’ का रूपमा व्याख्या गरे ।

त्यस्तो प्रवृत्ति त्यागेर नयाँ ढंगबाट अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । सांसद सीता थपलियाले भारत भ्रमणका क्रममा मन्त्री खनालले दिएको ‘पुरानो ब्यागेज’ सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न गरेकी थिइन् । त्यसको जवाफ दिँदै मन्त्री खनालले उक्त अभिव्यक्तिलाई राज्यको निरन्तरता र राष्ट्रिय विरासतविरुद्धको भनाइका रूपमा बुझ्नु अतिशयोक्ति हुने बताए ।

उनले नेपालले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा अघि बढाउन चाहेको पनि बताए । कुनै पूर्वाग्रह, संकीर्णता वा अनावश्यक अविश्वासबाट मुक्त भएर नेपालको कूटनीतिक सम्बन्धलाई नयाँ र रूपान्तरणकारी दिशामा लैजाने सरकारको नीति रहेको उनको भनाइ छ ।