देशभर मनसुनी वायुको प्रभाव, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

User Image Prime TV News ५ घण्टा अगाडि
Image of देशभर मनसुनी वायुको प्रभाव, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली भएको छ भने अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । 

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। भारी वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।