उडेको केहीबेरमै इरानी विमानको टायर पड्कियो, सुरक्षित अवतरण

User Image Prime TV News ५ घण्टा अगाडि
Image of उडेको केहीबेरमै इरानी विमानको टायर पड्कियो, सुरक्षित अवतरण

काठमाडौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै सफरान एयरलाइन्सको यात्रुवाहक विमान आपत्कालीन रूपमा सोही विमानस्थलमा फर्केर अवतरण गरेको छ।

स्थानीय समयअनुसार सेप्टेम्बर १५ को बेलुका ५ः३९ बजे भएको घटनामा बोइङ ७३७ विमानको एउटा टायर उडानका क्रममा पड्किएको थियो। टायर पड्किएपछि विमानको इन्जिनमा समेत क्षति पुगेको जनाइएको छ।

मशहदबाट केर्मानशाहका लागि उडेको विमानका पाइलटले अवस्था नियन्त्रणमा लिएर विमानलाई सुरक्षित रूपमा मशहद विमानस्थलमै फर्काएका थिए। विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको र घटनामा कोही पनि घाइते नभएको बताइएको छ।

इरानी सञ्चारमाध्यम आख्रिन खबरले घटनासँग सम्बन्धित भिडियो सार्वजनिक गरेको छ। भिडियोमा अवतरणका क्रममा विमानको भित्री छतको केही भाग फुटेर यात्रुमाथि खसेको देखिएको जनाइएको छ।